Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३
कभर स्टोरी

'यो सिन्दूर कसको?'


Manaslu Infotech Manaslu Infotech

शुक्रबार, २८ कात्तिक २०८२

26 Shares

बुढाबुढीहरू लहरै बसिरहेको पेटीमा फेरि अर्को एउटा साँझ खस्यो। बाघचाल खेल्दै गरेका दुई वृद्धहरूले सबै ढुङ्गाहरू एकातिर थुपारे, भोलिको लागि। अघिका बाघ एकक्षणमा ढुङ्गा बनेर हो कि अरू कारण, खेल हेर्दै गरेकी बुढीमान्छे जसको मुखमा केवल दुई थान दाँत बाँकी रहेको छ, ऊ खिस्स हाँस्छे। हाँसोको अरू कुनै कारण छैन। अचेतन मनबाट निस्केको त्यो खित्त हाँसो त्यहाँनेरी हुने कसैले चाल पाउँदैन।

त्यो बुढी मान्छे जो अचेतन मनले आजभोलि खिस्स-खिस्स हाँस्न थालेकी छन्, उसको नाम हो– अष्टमाया। अष्टमायाले आफ्नो जीवनको हरेक भोगाइहरू बिर्सिसकेकी छिन्। यसर्थ, जीवनमा आँसु र हाँसोमा कुन चाहिँ भारी उनले छुट्याउन सक्दिनन्। तर जीवनको यो घडीमा अचेतन मनले नै हाँस्ने र अचेतन मनले नै रुन थालेकी छन्। टाढा हेरेर बस्छिन्, मानौँ कसैको मौन प्रतीक्षा छ। जीवनमा आज उनलाई आफ्नो चार अक्षरको नाम पनि याद छैन।

उनी खासै केही बोल्दिनन्। कहिलेकाहीँ बोल्छिन् तर बोल्दा उही कुरा दोहोर्‍याएर कुरा बोल्छिन्। अचेल डुब्दै गरेको घाममा टोलाएर हेर्ने बानी परेको छ उनलाई। उनका दायाँ-बायाँ दुइटै हात चल्दैनथ्यो। खुट्टा भने अलिअलि हिँड्न सक्थिन्, जसको सहायताले उनी दिनभरि घाम ताप्न पिँढीमा भने आउन सक्थिन्। सधैँ उसलाई वृद्धाश्रमकै एक सेविकाले चम्चाले घिन मानी मानी भात खुवाउँथिन्।

उनी जवानीमा असाध्यै राम्री थिइन्। उनका श्रीमान् तातोपानीबाट काठमाडौँमा सामान ल्याउने गाडी चलाउँथे। एक दिन गाडी चलाउन हिँडेको श्रीमान् घर फर्केन। कसैले भन्यो, उसको श्रीमानको ट्रक त्रिशूलीमा बेपत्ता भयो। कसैले भने, ट्रक कतै थन्काएर मान्छे बेपत्ता भयो। एक्काइस वर्षको कलिलो उमेरमै श्रीमान बेपत्ता भएपछि छोरोलाई उनले बडो दुख गरी हुर्काइन्।

रत्नपार्कको फुटपाथमा ठेला गाडी धकेलेर, चुरोट, चाउचाउ र अन्य साना-साना सामानहरू बेच्न थालिन्। श्रीमान् नभए पनि उनले कयौँ वर्ष श्रीमानको पर्खाइमा सिउँदोमा सिन्दूर लगाएर बसिरहिन्। जब लाग्यो अब श्रीमान् फर्कँदैन, उनले सिन्दूरले सिउँदोमा रेखा कोर्न छोडिदिइन्। उनको सिउँदो खालि देखेर गाडी चलाउने कति चालकहरूले चुरोट किन्ने बहाना गरेर हातमा मुलायम तरिकाले छुन्थे। उनले सबै कुरा, चाल पाउँथिन् तर केही जवाफ फर्काउँदैन थिइन्। किनभने उनलाई त्यही चुरोट बेचेको पैसाले घर चलाउनु पर्ने बाध्यता थियो। कतिपय चालकहरूले त उजको सुन्दरतामा मोहित भएर सिधै प्रस्ताव राख्थे- ‘मसित बिहे गर्छौ अष्टमाया?’

त्यो बेला आफूसँगै बसिरहेको छोरोलाई उसले करुण नजरले हेर्थ्यो।

‘तिमीसित बिहे गरेर यो फुच्चेलाई के गर्ने त?’

‘कुनै गाडीमा खलासीको काम मिलाइ दिउँला नि।’

‘खलासी बनाएर यसको पढाइ छुटाउने त! क्लासमा जहिले फर्स्ट-फर्स्ट भइरहेको छ। यस्तो होनहार छोरोलाई गाडीमा पठाउने त। अहिले खलासी बनाएर भोलिको दिनमा, बढी भए ड्राइभरसम्म होला। पढेर गयो भने यो बाबु ठूलै मान्छे हुन्छ। निधार ठूलो छ।’

अष्टमायाले यसो भन्दा विवाहको प्रस्ताव राख्नेहरू केही नबोली सुटुक्क जान्थे। उसलाई थाहा थियो, छुच्चो बोल्नु एउटा ग्राहक गुमाउनु हो। भोलिदेखि त्यो ड्राइभर उसको ठेला गाडीमा चुरोट किन्न आउँदैनथ्यो। छोराकै लागि भनेर उनले जीवनको अर्को विवाह गरिनन्। बेपत्ता भएको श्रीमानको पर्खाइ भने उनको जीवनमा चिरकालसम्म रह्यो।

श्रीमान् बेपत्ता भएको धेरै वर्षपछि एक जना छिमेकीले उनको श्रीमान् अर्की नै श्रीमती लिएर पोखरामा बस्दै आएको कुरा उसलाई सुनायो। त्यसपछि उसले श्रीमानको खोजीनीति गरिनन्। उनले बाँकी जीवन छोराको भविष्यको लागि सुम्पिइन्।

छोरा पढाइमा अब्बल थियो। अब ठेला गाडीलाई घचेट्दा छोराले पनि आफ्ना दुई हातले ठेल्ने भयो। छोराले आमाको ठेलाबाट पानीका दुइटा बोतलहरू निकालेर दुई हातमा समातेर बस्थ्यो। उसको गरिबी झल्किरहेको कलिलो अनुहारलाई देखेर कयौँ मानिसले प्यास नलाग्दा पनि पानीको बोतल किनिदिन्थे।

दिन बित्दै गयो। छोराले एसइईमा राम्रो अङ्क ल्यायो। त्यो दिन अष्टमायाले चुरोट किन्न आउने चिनेका धेरैजसो ग्राहकलाई मिठाई बाँडी। सबैले उसलाई ‘लौ बधाई छ अष्टमाया, अब तिम्रो सुखको दिन फिर्ता भयो’ भनेर बधाई दिए। सायद जीवनमा त्यो दिन जति उनी कहिले खुसी भएकी थिइनन्।

छोराले एसइईपछि पनि आफ्नो पढाइमा अब्बलता प्रदर्शन गर्दै प्लस टूमा पनि टप नै भयो। भाग्यकै अनुकम्पाले छोराले इन्जिनियरिङमा उच्च शिक्षाका लागि जर्मनी जाने अवसर प्राप्त गर्‍यो। जीवनमा ठेला गाडी मात्र चढेको छोराको भाग्य उज्यालिएर हवाईजहाज चढ्यो। जर्मन गएपछि चार वर्षको लागि भनेर विदेश गएको छोरा सात वर्षसम्म फर्केर आएन।

सात वर्षपछि छोरा फर्केर आयो तर पहिला जस्तो थिएन, निकै बदलिएर आएको थियो। सानोमा ठेला धकेल्ने छोरो ठेलालाई निकै घृणाको नजरले हेर्‍यो। छोराले अलि रुखो स्वरमा आमालाई भन्यो, ‘तपाईँ अब मसित जानुपर्छ’

‘कहाँ?’

‘जर्मन’

‘मलाई नेपाल नै ठीक छ। यो ठेलालाई अब छोड्न सक्दिनँ।’

‘कति दिन ठेला ठेल्नुहुन्छ? अब हाम्रो जीवनमा सुखको दिन आयो। अब एउटा चुरोट बेचेर पाँच रुपैयाँ थाप्नु पर्दैन। अब हामीले चाह्यौँ भने यो सहरभरि यस्ता ठेलै ठेलाले भरिदिन सक्छौँ।’

उनले करुण नजरले छोरालाई हेरिन्। उसको आँखामा अझै ठेलाप्रतिको घृणा पुछिएको थिएन। छोराको आँखामा ठेलाको माया रतिभर पनि देखिनन्। सानोमा एकपटक ठेलामा बस्छु भनेर ठेलाको चक्का समातेको याद गरी। त्यो बेला छोराको जिद्दीसामु ऊ पटक पटक हारी र आज पनि हारी, छोराको लागि अति प्रिय ठेलालाई डेराको कोठामा बिसाएर जर्मन प्रस्थान गरी।

जर्मन पुग्दा पो थाहा पाई, छोराले विदेशी केटी बिहे गरेको रहेछ। सन्तान भएको थिएन। त्यहाँको परिकार, भाषा, संस्कृति र रहनसहन केही कुरा पनि उसको लागि रुचिकर भएन। उसलाई जर्मन त्यति मन परेन। उसलाई त्यहाँ रहँदा आफ्नो ठेलाको असाध्यै याद आयो। गएको पन्ध्र दिनमै अष्टमायाले छोरालाई नेपाल फर्किन्छु भनेर जिद्दी गरी। अति नै जिद्दी गरेपछि छोराले अष्टमायालाई उसकै देशमा, उसकै सहरमा फेरि छोड्न आयो।

आफ्नो अनिच्छा बावजुद पनि ठेला धकेलेकी आमालाई त्यस दिनपछि छोराले कहिले सम्झेन। उनले फेरि सडकमा पुरानो पेसालाई नै धान्दै, ठेला धकेल्दै सामान बेच्न सुरु गरिन्।

जाने बेलामा छोराले आमालाई भन्यो– ‘एउटा कुरा याद गर्नुस् आमा, यो देशको सरकारले जनतालाई गरिबीसिवाय केही दिँदैन। यहाँको सरकारले तपाईँको ठेला खोसिएको हामी विदेशमा बसेर टुलुटुलु हेर्न नपरोस्। आजबाट नेपाल आमा र आमा दुवैलाई त्यागेँ मैले।’

छोराको कठोरतामा अष्टमायाले पनि कठोर भएर जवाफ दिई, ‘तिमीलाई यो ठेला ठेल्दै गरेकी आमा देखेर लाज लाग्यो होला तर एउटा कुरा सुन, म बाँच्ने यही ठेलामा हो र मर्ने पनि यसैको मुनि हो।’

आमाको कुराले छोराले मन दुखाएर गयो। त्यसपछि छोरा जर्मनबाट कहिले फर्केन र आमालाई फोन पनि गरेन। समय बित्दै गयो। सहर पनि पहिला जस्तो भएन। स्थानीय सरकार फेरिसकेको थियो। अब त सडकमा बेच्दै गरेको सामान नगरप्रहरी आएर निर्ममतापूर्वक उठाएर लैजान्थे। अष्टमायाको ठेला पनि दुई पटक उठाएर लगिसकेको थियो। तर उनको हारगुहारपछि ठेला दुवै पटक फिर्ता पायो।

तेस्रो पटक उठाएर लैजाँदा अष्टमाया वडामा गएर खुब रोइन् तर उनले ठेला फिर्ता पाइनन्। उनको रुवाबासीलाई देखेर स्थानीय प्रशासनले अष्टमायासँग नागरिकता पेश गर्नू भन्यो। अष्टमायाले आफ्नो तस्बिर खिचेको नागरिकता वडामा पेश गरिन्।

त्यसपछि वडा अध्यक्षले अष्टमायालाई एउटा चिठी थम्याउँदै बोल्यो–‘यो पटक तपाईँले आफ्नो ठेला त पाउनु हुन्न। तपाईँलाई हामी यो सहरमा अलपत्र पनि छोड्दैनौँ। यो चिठी लिएर पशुपति वृद्धाश्रममा जानुस्। हामीले एकल महिला भनेर तपाईँलाई सिफारिस गरेका छौँ। कहिलेसम्म यो उमेरमा ठेला धकेल्दै भाग्नुहुन्छ? अब भगवानको वरिपरि कीर्तनमा बाँच्नुस्।’

हुन पनि हो, उसको उमेर पनि ६६ वर्ष पुगिसकेको थियो। उनले नागरिकतामा भएको आफ्नै अनुहार चिन्न सकिनन्। अष्टमायाले वडाले दिएको चिठी च्यापेर पनि हात जोडी नै रहेकी थिइन्। उनको आँखाभरि आँसु थियो।

फेरि वडा अध्यक्षले भन्यो, ‘तपाईँको मात्र होइन आमा। यी आउने जम्मैको ठेला खोसिएको हो। कोही पनि तपाईँ जस्तो यहाँ रोएका छैन।’

‘मलाई यो पटक ठेला फिर्ता चाहिँदैन बाबु, म जाने बेला एकपटक आफ्नै ठेलालाई हेर्न चाहान्छु।’

‘आफ्नो ठेलालाई चिन्नु हुन्छ र?’

‘चिन्छु।’

‘कसरी?’

‘यो ठेला, मेरो सिन्दूरभन्दा लामो र मेरो कलेजोभन्दा भारी छ बाबु। पहिला श्रीमान मर्यो, यो मेरो पति भयो। फेरि छोरा मर्यो, यो छोरा भयो।’

अष्टमाया हिक्क-हिक्क गरी।

‘यो आमालाई एकपटक उहाँको ठेला देखाउनुस् त,’ वडा अध्यक्षले नगरप्रहरीहरूलाई निर्देशन दियो।

अष्टमायालाई नगरपालिकाको एउटा विशाल चौरमा लिएर गइयो। उसले एउटा चौरको कुनामा पैँतीस-चालीस वटा उठाएर ल्याइएका ठेलै ठेला देख्यो। उसले देखी, पर कुनामा आफ्नो ठेला उदास मुखाकृतिमा उसकै पर्खाइमा बसिरहेको प्रतीत हुन्थ्यो। पति र छोराले भन्दा जीवनमा लामो समय साथ दिएको ठेलाको उनलाई असाध्यै माया लागेर आयो। आफ्नो ठेलालाई अन्तिम पटकको लागि अङ्गालो मारेर धित मरुन्जेल रोइन्। त्यसपछि उनले सडक सधैँको लागि त्यागिन्।

उनले वडाले दिएको पटुकीमा घुसाएको चिठी पशुपति वृद्धाश्रममा फुकाइन्। सिफारिसमा मात्र ‘असहाय एकल महिला’ लेखिएको थियो, त्यसमा अष्टमायाको विगतको कथाको एक हरफ पनि थिएन। त्यसरी नै अष्टमायाको नयाँ जीवन सुरु भयो।

उनी जीवनको साँझमा त्यहाँ पुग्दा खासै अपत्यारिलो लागेको थिएन। सुरु सुरुमा आफ्नो शरीरको सक्रियतामा उनी सबै काम गर्दथिन्। समयसँगै उनको शरीर खिइँदै गयो। त्यहाँ आउने हरेक बुढाबुढी एउटा एउटा कथा लिएर आउँथे। त्यहाँको कथा सुन्दा सुन्दा संसारमा सुख भन्ने जिनिसै छैन कि जस्तो लाग्थ्यो।

वृद्धाश्रममा जाँदा सुरु सुरुमा उनलाई नपुछिएर पनि पुछिएको सिउँदोको निकै दुखेसो रहेको थियो। त्यहाँ बस्दा बस्दा, सिन्दूर पुछिएकाहरू, सिन्दूर मारिएका, सिन्दूर हराएकाहरूको अनेक कथाले उसको सिउँदोको घाउ विस्तारै विस्तारै निको हुँदै गयो। सिउँदोको घाउ त निको भयो तर विस्तारै शरीरका सक्रियताहरू मर्न थाले। पहिला दायाँ हात, पछि बायाँ हातले सधैँको लागि विश्राम लियो। उनको जीवनको अवशेष केवल आँखामा मात्र बाँकी रह्यो।

आफ्नो कथा सुनाउन उनको कथा हराएको थियो भने अरूको कथा सुन्न कानले पनि अवकाश लिइसकेका थिए। अनि वृद्धाश्रमको पिँढीमा अष्टमाया एक्लै परिन्। उनी कसैको साथी भइनन्। बिहान पूर्वतिर टोलाएर हेरे जीवनको विगत कल्पे जस्तो, साँझ पश्चिमतिर हेरे मृत्यु पर्खे जस्तो बाहेक मात्र अरू केही देखिएन।

त्यहाँ जेष्ठ नागरिकहरू एउटा एउटा कथा लिएर जाने आउने क्रम जारी नै थियो। त्यही समयमा एउटा नयाँ जेष्ठ नागरिकको आगमन भयो। ऊ अरूभन्दा स्वस्थ, तन्दुरुस्त र जवान देखिन्थ्यो। ऊ पनि एउटा कथा लिएर आएको थियो, एकल पुरुषको। तर उसले आफ्नो जीवनको कथा कसैलाई सुनाएन। ऊ अरू बुढाबुढी भएको ठाउँमा कहिले गएको देखिएन। ऊ सधैँ अष्टमाया जहाँ छे त्यही गएर टुक्रुक्क बस्थ्यो।

एक मध्यान्नमा सबै जेष्ठ नागरिकहरू आ-आफ्नो काममा व्यस्त भएका थिए। ऊ अष्टमाया बसिरहेको पिँढीको नजिकै आएर बस्यो। अष्टमाया खाँबोमा अडेस लिएर पश्चिमतिरको घामलाई नियालिरहेकी थिई। उसले कसैले आफूहरूलाई चाल नपाएको समयको मौका लिएर अष्टमायाको काँधमा हात राखेर बोल्यो, ‘मलाई चिन्छौ अष्टमाया? म तिम्रो कृष्ण..!’

अष्टमायाले कृष्णलाई टोलाएर हेरिरही। अष्टमायाको कुनै जवाफ आएन।

‘मलाई थाहा छ, तिमी यहीँ छौ त्यसैले त म पनि यतै आएको। जीवनभरि तिमीलाई धेरै दुख दिएँ। अब म दुख दिन्न तिमीलाई।’

उसले सिन्दूरको बट्टा खोल्यो र अष्टमायाको सिउँदोमा लामै सिन्दूर लगाइदियो। सिउँदोमा सिन्दूर लगाउँदा अष्टमाया अचेतन मनले हाँसिरही। कृष्ण पनि अष्टमायाको अचेतन मनबाट प्रस्फुटित भएको हाँसोमा एकक्षण मुसुक्क हाँस्यो। उनलाई विवाह भएको रातको अष्टमायाको पहिलो हाँसोको याद आयो। जुन हाँसोको उज्यालो सामु नौलाख ताराको उज्यालो पनि मधुरो भएको थियो।

ऊ अष्टमायाको काँधमा हात राख्दै बोल्यो– ‘अष्टमाया! तिम्रो यो सिउँदो मेटिएको छैन। अब यो सिन्दूर लगाएर तिमी सधवा भएर बस। ऊ त्यो बगरमा मलाई सेलाएपछि मात्र यो सिउँदो खाली गर,’ उसले मुर्दा पोल्दै गरेको पशुपतिको घाटतिर औँलाले देखाउँदै बोल्यो।

ऊ त्यो दिन अष्टमायाको सिउँदोमा सिन्दूर लगाएर पिँढीको अर्को कुनामा घाम ताप्न हिँड्यो। सबै आ-आफ्नो काममा व्यस्त भएकोले एउटा कुनामा कृष्णले अष्टमायाको सिउँदो रंगाएको कसैले देखेन। त्यो दिन त्यस्तै भयो। कति बुढाबुढीले बत्ती काट्न सकाए। कतिले बाघचाल खेल्दै ढुङ्गा भोलिको लागि एउटा कुनामा थुपारे। कोही आँखा मिच्दै उठे।

साढे सातको खाना खाने बेलामा भात खुवाउने सेविकाले उसको सिउँदोमा लामो धर्को सिन्दूर देखेर रिसाई। उसले त्यहाँ भात खाँदै गरेकी सबै जेष्ठ नागरिकलाई इंगित गर्दै सोधी, ‘कसले लगायो अष्टमायाको सिउँदोमा सिन्दूर? यो सिन्दूर कसको हो? एउटी अपाहिज महिलामाथि यस्तो गर्न पाइन्छ तपाईँहरूले? जसले लगाएको हो, उसलाई म कारबाही गर्छु। अष्टमायाको पति छैन। हामीले बालविधवा भएकी एकल महिला भएर बाँच्दै आएकी भन्ने सिफारिसमा यता ल्याएका हौँ।’

कसैले ती सेविका कराएको सुने, कसैले सुनेनन् तर सबै बुढाबुढी भात निल्दा-निल्दै चुप लागे। त्यसपछि ती सेविकाले छेवैको एक मैलो कपडाको टालो टिपेर अष्टमायाको सिन्दूर पुछी। कृष्णले परबाट आफ्नै सिन्दूरको हत्या भएको टुलुटुलु हेरेर बसिरह्यो। अष्टमाया सिन्दूर पुछिँदा पनि अचेतन मनले हाँसिरही भने कृष्णले भने बग्न खोजेको आफ्नो आँसु बलैले सम्हाल्यो। अष्टमाया आफ्नै पतिको अगाडि आज हाँसी हाँसी विधवा भई।

कुनै समय जुन सिउँदो उसको जीवनको सबैथोक थियो, आज आएर उसले त्यो सिउँदो रंगाएको र पुछेको पनि चाल पाइन। ऊ रंगाउँदा पनि हाँसी र पुछिँदा पनि हाँसिरही, किनकि ऊ आज यतिसम्म पनि बोल्न सक्दिन कि म अष्टमाया हुँ।

प्रतिक्रिया