Weather १९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
बुधबार, १० असार २०८३
प्रशासन

करदाता खाेज्दै राजस्व कार्यालय, चलाउँदै प्रत्यक्ष सम्पर्क अभियान


Manaslu Infotech Manaslu Infotech

शुक्रबार, २८ कात्तिक २०८२

26 Shares

चितवन / आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो ।
 
बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले विवरण नबुझाएको पाइएपछि कार्यालयले यो अभियान सञ्चालन गरेको हो । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार मङ्सिर १ देखि ५ गतेसम्म माइकिङ र सचेतना कार्यक्रम पनि सञ्चालन गरिने छ । करदातालाई सरकारले उपलब्ध गराएका विभिन्न सुविधाबारे समेत जानकारी दिने तयारी गरिएको उनको भनाइ छ ।
 
उनले भने, “हामीले कर छुटका अवसर उपभोग गर्न आम सेवाग्राहीलाई आग्रह गरेका छौं ।” उनले राष्ट्र निर्माणका लागि सबै करदाताले पारदर्शीरूपमा कर तिर्न, कर छलि नियन्त्रणमा सहयोग गर्न र राजस्व असुलीमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे ।
 
जेनजी आन्दोलनका कारण गत भदौ २३ र २४ गते कार्यालयमा आंशिक क्षति पुगे पनि भदौ २९ गतेदेखि नै सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गरी हाल सबै सेवा पूर्णरूपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । चितवनका सात स्थानीय तहमध्ये तीनमा भरतपुर कार्यालयबाट र बाँकी चारमा आन्तरिक राजस्व कार्यालय खैरहनीमार्फत सेवा प्रवाह भइरहेको छ । 

प्रतिक्रिया